Thursday, October 12, 2023

गोपाल अश्‍क

गोपाल अश्‍क



कथा 

अन्तिम क्रान्ति


म आफ्नो घरको बरांडामा बसेक छु । साँझको बेला छ । साँझ पनि न भनौँ, साँझको विदाइ र रातको आगमन, अर्थात् गोधुलीको बेला छ । आकाश र बादलबिच लुकामारीको खेल भइरहेको छ। कहिले बादलले आकाशलाई आफ्नो अँगालोमा लिन्छ भने कहिले आकाशले बादललाई पर हुत्त्याउन सफल हुन्छ । यसरी दुवै आ-आफ्नो अस्तित्व कायम गर्न र त्यसको प्रभुत्वसँग दुनियाँलाई परिचित गराइराखेका छन् । म यो जुन बादल हेर्दैछु, त्यो असोज महिनामा आकाशमा लाग्‍ने कहिलेकाहीँको सेतो बादल होइन, साउन भाद्रको महिनामा लाग्ने कालो बादल हो, पूरा आकाशलाई आफ्नो मुट्ठीमा कैद गरेर राख्‍न सफल हुने बादल । हावा पनि बजोडले चलिरहेको छ । दिउँसोको समयमा एक्ल‍ै हुँदा आफ्नो कुनै हराएको साथीको खोजीमा स्वाँस्वा र हवाँहवाँ कराउने जङ्‍गलझैँ हावा पनि साँय-साँय कराइरहेको छ । रात पर्न लागेकोले मेरो मनमा भय व्याप्‍त हुन थालेको छ । भनिन्छ, साँझपख आएका पाहुना र पानी जाँदैनन् । मसँग साँझदेखि हवार्ररहवार्रर पर्दै गरेको पानीको स्वागत गर्नुबाहेक अर्को कुनै उपाय छैन । म चाहेर पनि यत्ति खेर परिरेको पानीलाई रोक्‍न सक्दिन । म के अरु जो कोही भए पनि, यो काम गर्न सक्दैनन् । बेला बेलामा आकाशमा जोरजोरले बिजुली कड्‍किरहेको छ । जोरजोरले चट्याङ्‍ग कड्‍केको आवाज सुनिन थालेको छ । कोठाका झ्यालमा झुन्ड्‍याइएका पर्दाहरू बेस्‍सरी हल्‍लिरहेका छन् । जोर जोरले पानी परिराखेको र हावा चलिरहेकोले होला, अचानक बत्ती जान्छ । घरमा चारैतिर अँध्यारो फैलिन्छ । भन्‍नु आवश्यक छैन, मेरो कोठा पनि अँध्यारोको सिकार हुन्छ । मैनबत्ती र लाइटर लिन म आफ्‍नो अध्‍ययनकक्षमा जान्छु । म आफ्नो घरका कोठाहरूमा, अँध्यारोमा पनि आउन जान सक्छु । यस अघि पनि मैले कैयौँ पटक यसरी अँध्यारोमा आफ्ना कोठाहरू चहारेको छु । आवश्यक परेका वस्तु प्राप्त गरेको छु । यसो गर्न म अभ्‍यस्त पनि छु । हजुरबुवा भन्‍नुहुन्थ्यो,‘अभ्यास र साधनाले जीवनमा सफलता प्राप्त गर्न सकिन्छ । जीवनरूपी पहाड चढ्‍न अभ्यास गर्नुबाहेक अर्को कुनै उपाय छैन ।’  म आफ्नो पढ्‍ने कोठामा अँध्‍यारोबाहेक केही देख्दिँन । चारैतिर अँध्यारो नै अँध्यारो । आफ्नै अङ्‍ग ठम्याउन गाह्रो, यत्ति अँध्यारो । तर म अभ्यासी मान्छे, बिस्तारै टेबुलतिर लम्कन्छु । हातले छाम्छु, टेबुलमाथि । बिहान पढेर राखिएका एकाध पुस्तकहरू छोइन्छन् । पुस्तकको स्पर्शको उच्छ्वास महसुस गर्दछु । टेबलको घर्रा खोल्‍छु, त्यहाँबाट एउटा मैनबत्ती झिक्छु । लाइटर खोज्छु, पाउँदिन । भान्छाकोठामा होला भनेर उतातिर लाग्‍छु । बैठककोठाको पश्‍चिम दक्षिण कुनामा भान्छाकोठा रहेको छ । ठिक त्यसको उत्तरतिर बाथरुम र त्यससँगसँगै टाँसिएर बसेको छ, एउटा अर्को भान्छा कोठा । यो सहर हो, गाउँ होइन । गाउँ भएको भए, भान्छाकोठा र बाथरूम अलि पर पर हुन्थे । गृहप्रवेश ताका मेरा हजुरबुवा र हजुरआमाले गाली पनि गर्नुभएको थियो, ‘‘ यस्तो पनि हुन्छ कहीँ ? भान्छाकोठा र दिशापिसाब गर्ने ठाउँ जोडिएको ? घर त राम्रै बनाएका रहेछौ तिमीहरू, तर यो मामिलामा बुद्धि पुर्‍याएका रहेनछौ ।’’ उहाँहरूलाई मैले यत्ति मात्र भन्‍न सकेको थिएँ, ‘‘यो हाम्रो जमाना हो बुवा । यो सहर हो, सहरमा यस्तै हुन्‍छ । कम जग्गामा सबैथोक मिलाउनु पर्छ। यो गाउँ होइन । ऊ माथि हेर्नुस् त सिँढीमा, पूजाघर बनाइएको छ। पाँच फिट चौडाइ र तीन फिट लम्बाइको आयतनमा भगवानहरू खुम्चिएर बस्न बाध्य हुनु भएको छ ।’ मेरो कुरा सुनेर हजुरआमाले त केही बोल्नु भा’को थिएन, तर हजुरबुवाले अलिक हप्काउँद‍ै भन्‍नु भा’को थियो, ‘‘भैगो, भैगो, चुप लाग् । बुझेँ तिमीहरू परेवाको खोपमा बसेका रहेछौ । तिमीहरूलाई गाउँको फराकिलो ठाउँको आनन्दबारे के थाहा ?’

अलि बिषयान्तर भएँ .... होइन...!  क्षमा गर्नुहोला... तर गहिरिएर हेर्ने हो भने, डुबेर सोच विचार गर्ने हो भने मलाई हिजोआज त मलाई हाम्रो मुल्क नै विषयान्तर भएको लाग्छ ।

       अँ, त म आफ्नो अध्‍ययन कोठाबाट निस्केर भान्छाकोठातिर लागेँ....अलि छिट्टो छिट्टो हिँडेको हुनुपर्छ, छिट्टोभन्दा छिट्टो मैनबत्ती बाल्न खोजेको थिएँ । बुढियाले कुनै कोठाबाट कराइसकेकी थिइन्, ’‘ ए हजुर ! छिट्टो बाल्नुस् न मैनबत्ती ।’’ मेरो आठ वर्षको एक मात्र छोरोले पनि ‘आमा ! बुवा ! डर लाग्यो ! उज्यालो पार्नुस् न छिट्टै !’ म अचानक बैठककोठाको पश्चिमतिर, बिचोबिच अवस्थित बाथरूम अगाडि रहेको बेसिनमा ठोकिन पुगेँ । तर एकै छिनमा आफूलाई सम्हालेँ र भान्छाकोठामा पसेँ । त्यहाँ मलाई लाइटर खोज्न कुनै खास कठिनाइ भएन । मलाई पनि भान्छाकोठाको रूप रङ्‍ग, तह आदि बारे थाहा थियो । किनभने मैले प्रत्येक महिनाको पाँच दिन खाना पकाउनु पर्दथ्यो । भन्‍नु आवश्यक छैन किन ? यहाँ सबैलाई थाहा हुँदै होला । जे होस्, मैले भान्छाकोठामा रहेको इन्डेक्सन चुलोनिरबाट लाइटर लिएँ र ‘फटाक्क’ को एउटा सानो आवाजका साथ क्लिक गर्नासाथ भान्छाकोठामा उज्यालो फैलियो, मद्धिम भए पनि । म बल्दै गरेको मैनबत्ती लिएर बैठककोठामा पसेको मात्र के थिएँ, ल्यान्डलाइन टेलिफोनको घन्टी बज्यो, ‘ट्रीन...ट्रीन...ट्रीन...ट्रीन’ । ल्यान्डलाइन टेलिफोन किन भनेको हुँ भने त्यो बेला हाम्रो मुलुकमा मोबाइल भित्रिइसकेको थिएन । कर्डलेसको जमाना थियो त्यो । त्यो पनि सबैको पहुँचभन्दा बाहिरको विषय थियो । कोही कोहीसँग मात्र थियो । म जस्तो साधारण पत्रकारको हातमा कर्डलेस कहाँबाट हुनु । बडो मुस्किलले मैले आफ्ना एसबिआई ब्याङ्‍का केही शेयर बेचेर एउटा ल्यान्डलाइन टेलफोन जडान गराउन सफल भएको थिएँ । यस्तो जमाना थियो । फोनको घन्‍टी बज्‍नु पनि एक किसिमको उत्सवझैँ लाग्थ्यो । फोन उठाइसकेपछि मात्र थाहा हुन्थ्यो, त्यो उत्सवको वस्तुस्थितिबारे । वस्तुस्थिति थाहा भएपछि मात्र फोन उठाउने पात्रको अनुहार कालो वा उज्यालो हुन्थ्यो । जे होस्, सुरुसुरुमा त फोन उठाउनु आनन्दको कुरो हुन्थ्यो... खासगरी केटाकेटीहरूका लागि । तर त्यस बखत बजेको फोनको घन्टीले हामी सबैलाई झस्काएको थियो । ‘यस बेला, यस्तो प्राकृतिक प्रतिकूलताको समयमा को होला ? निश्चित रूपमा कुनै अति आवश्यक कुरा होला, नत्र एक छिनपछि... एक छिनपछि भन्‍नुको मतलब पानी रोकिएपछि... हावा चल्न थामेपछि....फोन गरिहाल्थ्यो नि ?’’ यी र यस्ता अनेकौँ कुरा मनमा खेलाउँदै मैले फोन उठाएँ ।

‘हलो, सर !’ उताबाट चिनेको आवाज आयो । मैले चिनिसकेको थिएँ, त्यो साँझ पानी पर्न थाल्नुअघि मसँग साहित्यिक र राजनीतिक विषयमा कुरा गरेर गएको अनिल शर्माको आवाज थियो ।

‘के भो अनिल ? मैले ऊतिर सिधै प्रश्‍न तेर्साएँ ।

‘सर, मैले सरकहाँबाट आउँदा बाटोमा आर्मीको एक जत्था हजुरको घरतिर गइरहेको देखेँ । हजुरलाई सर्तक र होसियार हुनका लागि एउटा टेलिफोन बुथबाट फोन गरेको हुँ । म अहिलेलाई राख्छु ।’’

यत्‍ति भनेर अनिलले फोन राखेको थियो । त्यसपछि मेरो घरमा एक अर्को अँध्‍यारोले ठाउँ लियो । कुरो के थियो भने मेरो टोल अलिक त्‍यो दृष्टिले प्रहरी प्रशासनका आँखामा चढेको थियो । बेला थियो माओवादी र सरकारबिचको द्वन्द्वको । माओवादीहरूले आफ्नो त्यो द्वन्द्वलाई ‘जनयुद्ध’ भन्‍ने गरेका थिए, अझै भन्छन् र सरकारले उनीहरूको त्यो दावीलाई सिधै नकार्थ्यो र आतङ्‍कवादी भन्‍ने गर्दथ्यो। यो आजको कुरो होइन । आजको स्थिति बेग्‍लै हो । रानीघाट माओवादीहरूलाई लुकाउने छुपाउने ठाउँको रूपमा चिनिएको थियो । कमसेकम प्रहरी प्रशासन त यही विश्‍वासमा बाँचेका थिए ।

म ‘अब के गर्ने होला ? यो आर्मीहरू आउँदा के के गर्छन् होला’ भन्‍ने सोचमा थिएँ । केही बेरमै मेरो घरको ढोकामा जोर जोरले ढकढकाएको आवाज सुनियो । म बरांडामा निस्‍कन खोजें । मेरी श्रीमतीले बाहिर ननिस्कन इसारा गरिन् तर मसँग बाहिर निस्किनु र ढोका खोल्‍नुबाहेक अर्को कुनै उपाय थिएन । म भित्रभित्र डराउँदै तर बाहिरबाट निडरताको भाव प्रकट गर्दै ढोका खोल्दै भने, ‘हजुर,के थियो होला ?’

       ‘तिम्रो घरको तलासी लिनु छ ।’ भन्दै पाँच जना आर्मीको एउटा जत्था मेरो घरभित्र पस्यो । ती पाँच जनामध्ये एकले भन्यो, ‘‘ तिमी नै होइन, ‘आक्रोश’ भन्‍ने पत्रिकाको सम्पादक ?’

‘हो, मै हुँ ‘आक्रोश’ पत्रिकाको सम्पादक ।’ मैले सिधा सपाट जवाफ दिएँ ।

‘अनि, घरमा कस कसलाई लुकाएर राखेका छौ ?’ एक अर्को आर्मीले सोध्यो ।

‘मेरो घरमा परिवारका सदस्यबाहेक अरु कोही छैनन् र मैले कसैलाई लुकाएर किन राख्‍नुपर्‍यो। यो त हामी सबैको घर हो ।’ मैले आफ्नो परिवारको स्थिति प्रष्ट्याउँदै भने ।

‘धेरै नबोल्, हामी जे जति सोध्‍छु, त्यसको मात्र जवाफ दे।’’ मसँग पहिला सोधपूछ गरेको आर्मीले अलिक कडा स्वरमा भन्यो ।

उसको कुरो सुनेर म चुप लागेँ । म बुझिसकेको थिएँ, उनीहरू म र मेरो घरको छानबीन गर्न आएका छन्। मैले प्रतिवाद गरेँ भने उनीहरू मसँग दुर्व्यवहारसमेत गर्न पछि पर्दैनन् । पाँच जना आर्मी जवानहरूमध्ये चार जना मेरो घरका कोठाहरूमा पसे र एक जना बैठककोठामा उभिरह्‍यो । मेरी श्रीमती मेरो छोरासँग ओछ्यानमा बसेकी थिइन् । उनका आँखामा भय र आशङ्‍काको बादल मडारिरहेको थियो । उनी बसेकी कोठामा पस्ने आर्मी जवानले थर्काउँदै सोध्यो, ‘‘ अनि तिमी को नि ?’

‘उनी मेरी श्रीमती हुन्।’’ मैले भनेँ ।

‘किन ऊ लाटी छे, बोल्‍न सक्दिन । तिमी किन बोलेको ?’ त्यो आर्मी जवानले जोरसित हप्काउँदै भन्यो ।

‘म उहाँकी श्रीमती हुँ, यो हाम्रो कान्छो छोरो हो ।’ आत्तिँदै मेरी श्रीमतीले भनिन् ।

‘साँझ यहाँ को को आएका थिए ?’ उनीहरूबारे के थाहा छ तिमीलाई ?’ त्यो आर्मी जवानले मेरी श्रीमतीलाई प्रतिप्रश्‍न गर्‍यो । मैले केही बोल्‍न खोजेको देखेर मलाई चुप गराउँदै भन्यो , ‘‘तिमी चुप लाग् ।’ अँ, भन ! ती माओवादीहरू कता गए ?’

       यस पटक मेरी श्रीमती निकै डराइन् र काम्दै स्वरमा भनिन्, ‘ खोई हजुर, मलाई केही थाहा छैन । उहाँहरू त हफ्तैपिच्छे आउनुहुन्‍छ । उहाँहरू त उहाँको (मतिर देखाउँदै) चेला हुँ, भन्नुहुन्छ । कविता, गीत, गजल आदिबारे घन्टौँ कुरा गरेर जानुहुन्छ ।’

‘ए, त्यसो भए, तिनीहरू माओवादी होइनन् ?’ त्यो आर्मीले व्यङ्‍गले भरिएको मुस्कान छोड्‍दै भन्यो ।

 त्यो आर्मीको यो व्यङ्‍ग्ययुक्‍त सोधाइमा मेरी श्रीमतीले कुनै जवाफ दिइनन् । उनी चाहेर पनि दिन सक्दिनथिइन् । किनभने, उनलाई त के, मलाई समेत थाहा थिएन । मैले त उनीहरूलाई आफ्ना चेलाको रूपमा चिनेको थिएँ । त्यो आर्मीले मेरी श्रीमतीलाई अलिक नराम्ररी तरिकाले हात समातेर केरकार गर्न थालेपछि मैले शिष्ट भाषामा तर विरोध गर्दै भने,‘‘ तपाईँले मेरी श्रीमतीसँग यस किसिमले कुरो गर्न मिल्दैन । तपाईँहरू हाम्रो बारेमा धेरै कुरो बुझेरै आउनुभा’को रहेछ । तपाईँहरूलाई मेरो बारेमा धेरै थोक थाहा हुँदाहुँदै एउटा अपराधीलाई गरेजस्तो व्यवहार गर्दै हुनुहुन्छ ।’ मैले यत्ति मात्र के भने थिएँ, एउटा आर्मीले मेरो मुखमा एक झापड हान्दै गर्ज्यो, ‘‘ हामीलाई सिकाउँछौँ, चुप लाग् नत्र.... । यो कोठामा के छ, देखाऊ ।’’ भन्दै एक जना मेरो अध्‍ययन कोठामा पस्‍यो । बत्ति गएकोले कोठा भरि अँध्यारै थियो । उसले ठूलो टर्च बाल्यो र कोठाभरि फैलायो । कोठाका पर्खालहरूमा बेला बेलामा मलाई दिइएका प्रमाणपत्रहरू सजिएका थिए । त्यो आर्मीको नजर मैले सन् १९८१ मा प्राप्त गरेको एउटा प्रमाणपत्रमा अड्कियो । त्यस प्रमाणपत्रको शिरमा ‘जनवादी लेखक सङ्‍घ’ लेखिएको थियो । त्यो आर्मीले त्यस प्रमाणपत्रमा लेखिएका अन्य कुरा केही पनि पढेन, पढ्न चाहेन । खाली ‘जनवादी लेखक सङ्‍घ’ पढ्यो र पढ्‍नासाथ मतिर बाघले हेरेझैँ हेर्‍यो । उसले खोजेको पाइहालेको थियो । त्यसपछि के थियो र... तथानाम गाली गर्न थाल्‍यो--- हप्‍काउन थाल्यो, ‘‘ ए, तिमी जनवादी लेखक हौ । हाम्रो शङ्‍का सही रहेछ । तिमी त माओवादी पो रहेछौ । ठ्याक्‍क माओवादी नभए पनि उनीहरूको सम्पर्कमा रहने व्यक्‍ति त पक्‍कै रहेछौ । ल भन, केही समय अघि तिमीकहाँ आउने माओवादीहरूको नाउँ के के हो ?’’

त्यो आर्मीको कुरा सुनेर म आत्तिएँ र भक्भकाउँदै हक्‍लाउँदै भनेँ, ‘‘ तपाईँहरूलाई भ्रम परेजस्तो छ । त्यो प्रमाणपत्रमा लेखिएका अन्य कुरा पनि त पढ्नुस् । यो त मैले खेमचन्द ताराचन्द महाविद्यालय, रक्सौलमा पढ्दा मोतीहारीमा भएको कलेज स्तरीय कविता प्रतियोगितामा द्वितीय भएर प्राप्‍त गरेको प्रमाणपत्र हो । यो आजभन्दा अडतिस वर्ष पहिलाको कुरो हो । त्यो बेला त हाम्रो नेपालमा माओवादी विद्रोहको नामोनिशान नै थिएन । माओवादी आन्दोलन त २०५२ सालदेखि सुरु भा’को हो, होइन र ?’’ मैले त्यो आर्मी अलि सोचिरहेकोझैँ देखेँ । त्यसपछि ऊ अलिक बुझ पचाउँदै भन्यो, ‘‘ अहिले त हामी जाँदैछौँ, तिम्रो यही चाला रहने हो भने हामी पछि फेरी आउँला, र त्यो आगमन तिम्रो लागि अस्वस्थकर हुनेछ । ख्याल गर्नु ।’’ यत्ति भन्दै पाँचै जना आर्मीका जवानहरू मेरो घरबाट निस्के ।

       उनीहरू जानु र बत्ति आउनु, सँगसँगै भएको थियो । उनीहरूले गरेको लगभग एक घन्टाको केरकारले गर्दा हामी मानसिक रूपमा गलिसकेका थियौँ । हुन त, बत्ति आएपछि मेरो घरमा मात्र होइन, मेरो छरछिमेकमा पनि उज्यालो भइसकेको थियो । तर मलाई मेरो घरमा अझै अँध्यारै रहेझैँ लागिरहेको थियो ।

म, ‘‘राधा म अफिस जाँदैछु । होश गरेर बस्‍नु । हिजोआज कुनै पनि बेला आर्मी वा माओवादीहरू घरभित्र पसेर दुःख दिन थालेका छन् । म सधैँझैँ आज पनि राति नै आउँछु, पत्रिकाको काम सकाएर ।

राधा, ‘‘ हुन्‍छ हजुर ।’’ राधाको मनमा अझै डर व्याप्त रहेको महसुस गर्दागर्दै पनि मैले केही भन्‍न सकिन र चुपचाप अफिस हिँडे ।   

       त्यस ताकाको समय माओवादी र राज्यबिच हुने गरेको द्वन्द्व र त्यस द्वन्द्वमा मारिने नेपालीहरूको घरपरिवारको चीत्कार तथा पीडामा बितिरहेको थियो । त्यही बेला सात राजनीतिक दलहरूले एकजुट भएर सरकारको विरुद्धमा रिले भोक आन्दोलन गरेका थिए । वीरगन्जको घन्टाघरमुनि रहेको चबूतरामा पाल टाँगेर पालैपालो कुनै कुनै नेता वा कार्यकता अनशनमा बसेको देखिन्थ्यो । हाम्रो पत्रिकाको कार्यालय पनि घन्टाघरनजिकै थियो ।

एक दिन म सधैँझैँ छ बजे अफिसबाट छुटेर पत्रिका कार्यालयमा पुगेँ । आफ्नो कार्यकक्षमा बसेर दिनभरिमा आएका समाचारहरूलाई हेर्न थालेँ । गर्मीको महिना र वीरगन्‍जको ठाउँ, भन्‍नै पर्दैन ती दुवैबिच गाँसिएको साइनोबारे केही । पसिनैपसिनाले भिजिसकेको थिएँ । म मात्र होइन, मेरो कार्यकक्षमा बसेका समाचार संवाददाताहरूका साथै अन्‍य मान्‍यजनहरू पनि पसेनाले निथ्रुक्‍क भिजिसकेका थिए । केही बेर यताउताको कुरा गरिसकेपछि गर्मीबाट निजात पाउनका निम्ति म मेरा एकाध जना सहयोगीहरूका साथ छतमा गएँ । हामी छतमा बसेर हावा खाँदै कुरा गरिराखेका थियौँ । लगभग आधी घन्‍टा बितेको हुनुपर्दछ, चार पाँच जनाको एउटा समूह हामीनिर आएर उभ्यो । ती चार पाँच जनामध्ये एकले, जो आर्मी जवानजस्तो देखिन्थ्यो, सोध्यो, ‘यस पत्रिकाको सम्पादक को हो ? तल अफिसमा सोधेको, माथि हुनुहुन्छ भन्नै जवाफ पाइयो । म नजिकै बसेका कार्यकारी सम्पादकले भनेँ, ‘‘ म चाहिँ कार्यकारी सम्पादक हुँ र उहाँ (मतिर देखाउँदै) प्रधान सम्पादक हो । त्यसपछि त्यो आर्मी जवानजस्तो देखिने व्यक्‍तिले सिधै मतिर हेर्‍यो र भन्यो, ‘‘ तपाईँहरू हाम्रा समाचार किन छाप्‍नु हुन्‍न ?’’

म, ‘‘हामीले त हामीकहाँ प्राप्त भएका हरेक समाचार छाप्‍ने गरेका छौँ । सर्त एउटै हुन्छ, त्यो समाचार तथ्यसत्य हुनु पर्दछ र स्रोत भरपर्दो हुनुपर्दछ ।’’ मैले महसुस गरेँ, त्यो व्यक्‍ति मेरो सपाट जवाफले सन्तुष्ट भा’को थिएन । अलि मुख बिगार्दै भन्यो, हामी यहाँ यसै आएका होइनौँ । तपाईँहरूलाई थाहा छैन हामी को हौँ ?’’

म,‘‘ को हुनुहुन्छ तपाईँहरू ?’’ मैले त्यो व्यक्‍तितिर हेर्दै सोधेँ ।

त्यो व्यक्‍ति, ‘‘ हामी माओवादी हौँ । त्यो हेर्नुस् नाटक (घन्टाघरमुनि रिले भोक अनशनमा बसेकाहरूतिर हेराउँदै) । यिनीहरूको यो नाटकले केही हुनेवाला छैन । सरकारले यिनीहरूको कुरो सुन्‍नेवाला छैन । सरकार त बहिरो र अन्‍धो भइसकेको छ । सरकारले बम बारूदको धमाकाबाहेक निरीह, निमुखा, गरिबहरूको आवाज सुन्दैन ।

       साँच्चि भन्‍नुपर्दा हामी डराइसकेका छौँ । माओवादीका बारेमा हामीले धेरै लेखिसकेका थियौँ, उनीहरूको विचारबारे अनेक तर्कवितर्क पस्किसकेका थियौँ । म आफ्नो कुरो गर्दैछु, म जीवनमा पहिलो पल्ट माओवादीसँग भेटिरहेको थिएँ । नाम र कामबारे त भिज्ञ थिएँ तर यसरी साक्षात् भेंट गर्न पाएको थिएन । त्यो बेला एउटा ‘माओवादी’ शब्दले मात्र भयको वातावरण सिर्जित गर्न सक्षम थियो । मेरा कार्यकारी सम्पादलेक अलिक निडरता देखाउँदै भने, ‘‘ त्यसो होइन, हजुर । हामीलाई थाहा भएका समाचार हामी छाप्‍ने गरेका छौँ ।’’

त्यो व्यक्ति, ‘‘ ठिक छ, यदि छाप्‍ने गर्नु भा’छ भने । र यदि छाप्‍ने गर्नु भा’को छैन भने, आजदेखि, अहिलेदेखि हाम्रा समाचार पनि छाप्‍ने गर्नुस् ।’’

       उसले बोलेको कुरा सकुन्जेल ऊसँग आएकामध्ये एक जनाले मलाई एउटा कागज थमाइहाल्यो । त्यो व्यक्‍तिले भन्यो, ‘‘ ल, सम्पादकज्यू, यो समाचार तपाईँको पत्रिकाको भोलिको अङ्‍कमा छापिनु पर्‍यो । हामी भोलि बिहान तपाईँको पत्रिकाको अङ्‍क हेर्छौँ । होश पुर्‍याउनु होला, यो समाचार नछापिएकोमा कुरा गर्न नपरोस् ।’’

       यसो त त्यो व्यक्‍तिले हामीलाई धम्काएको होइन, बडो विनम्रतापूर्वक आफ्‍नो कुरो राखेको थियो । प्रजातन्त्रको यही त विशेषता हो, हरेक व्यक्‍ति आफ्नो कुरा राख्‍न स्वतन्त्र हुन्छ । वाक् स्वतन्त्रता नै प्रजातन्त्रको मूल विशेषता हो ।’’ तर हामी त्यो व्यक्‍तिले प्रस्तुत गरेको स्वतन्त्रताले अर्कै किसिमबाट प्रभावित भएका थियौँ । मेरो मुखबाट ‘हस्’ बाहेक कुनै अर्को शब्द निस्केन, वा यो भनूँ, निस्कन चाहेन । उनीहरू हावाझैँ आएका थिए, आँधीझैँ गए ।

       उनीहरू गइसकेपछि, मैले उनीहरूले दिएको कागज पढेँ । त्यसमा लेखिएको कुरो पढेर आश्‍चर्यचिकत मात्र भइन, डराएँ पनि । राति बाह्र बजे प्रेसमा जानुपर्ने ट्रेसिङ पेपर कहिलेकाहीँ बिहानको चार बजे,पाँच बजेसम्‍म जान्‍न बाध्य हुन्थ्यो । त्यो रात, म घरै गइन, कार्यालयमै बसि रहेँ । त्यो रात पनि, लोडसेडिङ भयो । रातिको तीन बजे मात्र बत्ति आयो । घटना एक बजे घटेको खबर प्राप्त भयो । हामीले हाम्रो पत्रिकामा त्यो घटना छाप्यौँ । त्यस दिन बजारमा हाम्रै पत्रिकाको कुरो थियो । हाम्रा समर्थकहरू प्रशंसा गरिरहेका थिए भने विरोधीहरू विभिन्‍न प्रकारका आरोप लगाइराखेका थिए । दिनको एघार बजेतिर जिल्ला प्रशासन कार्यालयबाट हामीकहाँ फोन आयो । खास गरी मलाई र मेरा कार्यकारी सम्पादकलाई बोलाइयो । त्यो प्रकाशित घटनाबारे विभिन्‍न कोण र विभिन्‍न शैलीबाट सोधपुछ गरियो । सोधपुछ त प्रमुख जिल्ला अधिकारीकै कार्यकक्षमा गरिएको थियो, तर त्यहाँ उपस्थित हुनेहरूमा आर्मीका जवानहरू पनि थिए, प्रहरी प्रशासनका अधिकारी पनि थिए । हामीलाई ‘‘ताड़ से गिरे, खजूर पर लटके’ जस्तो भा’ थियो । धन्न, हामीले त्यो खबर ‘छाप्दाछाप्दा’ को ब्लाक र शीर्षकमा छापेका थियौँ र सबैभन्दा महत्त्वपूर्ण कुरो, त्यो रात लोडसेडिङ लामै भएको कुरो प्रशासनलाई पनि थाहा थियो । हामीले बडो मुस्किलले उन्मुक्‍ति पाएका थियौँ ।

आज, हाम्रो देशमा संघीय गणतन्त्र स्थापित भइसकेको छ। २०७२ को नेपालको संविधानले प्रत्येक नेपाली नागरिकलाई सार्वभौम बनाएको छ । प्रत्येक नेपालीलाई बोल्‍ने अधिकार प्राप्त भइसकेको छ। हाम्रो संविाधानलाई विश्‍वमा सबैभन्दा राम्रो संविधानको रूपमा दर्जा प्राप्त भएको छ । हिजो दश वर्ष लडेका माओवादीहरूले सत्ताको कुर्सीमा विराजमान हुन थालेका छन् । भन्‍नु पर्दा सत्तासुख भोग्‍न थालेका छन् । माओवादी नेता र कार्यकर्ताहरू आफ्नो जीवन उकास्नमा तल्लिन छन् । पूँजीवाद र सामन्तवादको घोर भर्तर्सना गर्ने, विरोध गर्ने र विदोह्र गर्ने माओवादीहरू कमोबेस त्यही बाटोमा हिँडिराखेका छन् । अचम्मको कुरो त के छ भने माओवादी र काङ्‍ग्रेसबिच सत्ता समझौता हुन थालेको छ । माओवादीलाई देखि नसक्‍ने काङ्‍ग्रेसी र जनयुद्धको बेला सबैभन्दा बढी काङ्‍ग्रेसीहरूलाई नै मार्ने माओवादीहरूबिच समझौता भएको मात्र होइन, टिकेको पनि देखेर नेपाली समाज आश्‍चर्यचकित छ । बेला बेलामा दुवै दलका सजग र नेता कार्यकर्ताहरू यो पवित्र वा अपवित्र समझौताबारे कुरो उठाइराखेका छन् तर नेतृत्व पङ्‍क्तिको कानले सुन्‍दैन । सुन्‍नै चाहँदैन ।

       युवा पिँढी विदेस पलायन भइरहेको छ । तर एउटा आशाले कहिल्यै साथ छाडेको छैन, हर मोडमा साथ दिइरहेको छ । त्यो आशा रुपान्तरित भएको छ, ‘क्रान्ति’ भन्‍ने शब्दमा । सबै नेपालीले राम्ररी के बुझेका छन् भने कुनै पनि क्रान्ति दिशाहीन हुँदैन, बरू क्रान्ति गर्ने पात्रहरू दिशाहीन भइहाल्छन् । ‘क्रान्ति’ शब्द खाली शब्द मात्र होइन, एउटा संस्कार हो, एउटा सभ्यता हो, समाजमा व्याप्त रहेका विविध विसङ्‍गतिविरुद्धको शङ‍्खनाद हो । ‘क्रान्ति’ अपिवत्र कहिल्यै हुँदैन, सधैँ पवित्र हुने गर्दछ । मलाई लाग्छ, हाम्रो मुलुकले एउटा अर्को ‘क्रान्ति’ को पृष्ठभूमिको तयारीमा छ । त्यो क्रान्ति रक्तरहित क्रान्ति हुनेछ, हरित क्रान्ति हुनेछ । नेपालबाट विदेसिरहेको युवा पिँढीलाई आफ्‍नै देशमा रोक्‍ने र विदेसिएको युवा पिँढीलाई स्वदेश फर्काउने अन्तिम क्रान्ति हुनेछ । हुनेछ, हाम्रो देशमा क्रान्ति हुनेछ । पक्कै हुनेछ ।

v   

 

 

Saturday, October 7, 2023

सीता ओझा

 

सीता ओझा


कथा 


अनुत्तरित प्रश्न


हल्का चिसोले वरिपरि कुहिरो लागेको थियो । कोलाहल नभएर होला गाउँ नै चकमन्न थियो । बिहानको सात बजेतिर आवरण आँखा मिच्दै मिच्दै बाहिर निस्कियो । बाहिरको मूलढोकामा पुगेपछि मूलढोकाको पल्ला समाउँदै भन्यो, “फुपू, अघि नै उठ्नुभो ! किन मलाई नउठाएको   त ? सुत्ने बेलामा, सँगै उठेर दौड्ने भनेको होइन त ! हैट, तपाईं त भुल्न थाल्नुभएछ ।”

आँगनको पल्लो छेउमा बसेर तरकारी काटिरहेकी सावरीले आवरणतिर फर्केर भनिन्, “तपाईं सानो मान्छे, अलिबेर सुत्नुपर्छ नि ! उठिहाल्नुभयो । अब दौडौंला नि ! हुन्न र ?” दङ्ग पर्दै 

“हुन्छ, म हल्का उफ्रन्छु अनि दौड्ने है त !”

सावरीले हुन्छ भन्दै आँगनकै चुलोमा पानी तताउन बसालिन् । पाँच लिटरको चियादानीको पानी उम्लने बेला हुन लागेको थियो । कुर्सीमा बसिरहेको आवरण जुरुक्क उठ्यो अनि सावरीको हात समात्यो र भन्यो, “ल अब दौडौं ! यो घर पाँच पाँच पटक दौडेर घुम्ने है । त्यति घुमेपछि कसरत गर्न पुग्छ ।“

सावरी आवरणको कुरा सुनेर छक्क परिन् । आवरणले हात समातेर जिद्दी गरेपछि सावरी पनि सकिनसकी आवरणको पछिपछि दौडिन् ।

दौड पूरा भएपछि आवरणले प्लास्टिकका दुईओटा कुर्सीहरूको बस्नेपट्टि मिलाएर जोड्यो र बिचबाट छि¥यो ।

उसले जोडेको कुर्सी देखाउँदै भन्यो, “फुपू, म अब १० मिनेट आराम गर्छु है ।”

सावरीले हस् भनेर आँगनको चुलोमा दाउरा थप्न पर्ने भएर दाउरा लिन गइन् ।

दाउरा लिएर आउँदै थिइन्, आवरणले फेरि बोलायो ।

सावरीलाई बोलाएपछि मनितातिर फक्र्यो र भन्यो, “ममी, यता हेर्नस् त !”

“फुपू र मलाई ब्ल्याक टी है !” टवाक्क चिनी लागेको ।

आवरण कुर्सीबाट जुरुक्क उठ्यो र सावरीको छेउमा गयो । सावरीको हात समायो र भन्यो,

“अब ब्ल्याक टी आउन लाग्यो, यता आउनुस् ! यो कुर्सी तपाईंको र मेरो हो । म चिया पिएपछि मेरो होमवर्क गर्छु है ।”

आवरणको व्यवहारले सावरी चकित परिन् ।

सावरीले सोधिन, “सानू, हजुरले यो कसरत सधैं गर्नुहुन्छ ?”

आवरणले तुरुन्तै जबाफ दियो, “गर्छु त ! म त एकछिन हातखुट्टा चलाउन हिँड्छु पनि !”

आवरणका कुरा सुन्दै सावरीले सबैतिर नजर लाइन् ।

सबै आफ्नै इलमतिर मक्ख थिए । आवरणको क्रियाकलापतिर खास कसैको चासो थिएन ।

तीनबर्से बच्चो, आफ्नो स्वास्थप्रति चासो राख्दै रमाएको र नियमितता दिएकोमा सावरीलाई अचम्म लाग्यो । प्रतिक्रिया नदिई सुनिरहिन् ।

बेला बेला उठेर सावरीले चुलोमा पकाएको खानेकुरा हेर्दै, पानी पनि पिउँदै आवरणले पाँच पेज गृहकार्य सक्यो ।

उठेर ब्रसमा मन्जन लगाएर दाँत माझ्यो । मुख धोयो र छेउमा आएर भन्यो, “फुपू, मेरो त स्कुल जाने बेला भयो । अब खाना खाऔँ !”

सावरीले पनि “हुन्छ” भन्दै मनितालाई बोलाइन् ।

मनिताले भान्सामा सबैलाई खाना पस्किन् ।

आवरणको  खाना खाने अलि ठुलो चरेसको कचौरा रहेछ ।

आवरण सावरीको छेउमा गएर बस्यो र सावरीतिर हेरेर भन्यो, “अब तपाई मेरो घरमा बसुन्जेल, तपाईंले खुवाउने, बुझ्नुभयो नि !”

यति भन्दै हजुरआमातिर फर्कियो । आफूलाई सावरीले खाना खुवाएको हजुरआमालाई देखाउँदै भन्यो, “आमा यता हेर्नू त ! मलाई त मजा आयो ।”

आवरणको कुरा सुनेर हजुरआमा मुस्कुराउँदै भनिन्, “फुपूले खाना खुवाउँदा कति आनन्द लिएर खाएको हो ।”

खाना खाइसकेपछि आवरण भित्र छिर्‍यो । दस मिनेट जतिमा स्कुलको पोसाक लगाएर ब्याग हातले घिसार्दै भान्सातिर छिर्‍यो र निकेशपट्टि फर्केर भन्यो, “बाबा, यो टाई त मिल्दै मिलेन । मैले लगाउँदा बटारिएको बटारियै ग¥यो ! मिलाइदिनुस् त !”

निकेशले एकछिन भन्दै मुखहात धोएर टाई मिलाइदिए । ब्याग पछाडि बोकाएर हातमा पानीको बोतल समातेर भने, “ल अब छिटोछिटो जाऊँ ! स्कुलको घन्टी बज्ने बेला भयो ।” 

आवरणले निकेशतिर हेरेर भन्यो, “आज बाबाको पालो होइन, उः फुपूसँग जाने !”

फुपूपट्टि फर्केर “जाऔं फुपू” भन्यो ।

सावरीले प्रतिक्रिया नजनाई आवरणलाई स्कुल पु¥याउन हिँडिन् ।

लागभग पाँच मिनेटको बाटो कटेपछि आवरणले सावरीलाई हिँड्दै गरेको बाटोबाट मोडेर सहायक बाटोतिर तान्यो ।

सावरी छक्क पर्दै आवरणतिर हेरेर बोलिन्, “सानू, स्कुल त यता पो हो त !”

“हजुर कता हिँड्नुभएको ?”

आवरणले सावरीलाई इसाराले चुप लाग्न भन्यो र हात तानेर साना साना मन्दिरतिर लग्यो ।

मन्दिरका भवन साना तर लस्करै थिए । मन्दिरको ढोकातिर देखाउँदै आवरणले फुपूलाई सानो स्वरले खस्याकखुसुक्क गर्दै सोध्यो, “फुपू ! भगवानलाई  पनि यसरी जेलमा हाल्छन् त ?”

तीन वर्ष मात्रै पुगेको आवरणको बोलीमा बेला बेला तोते स्वर आउन छोडेकै थिएन । यस्तो सानो उमेरको बच्चोको त्यो प्रश्नको उत्तर चुपचाप सुन्नुबाहेक सावरीसँग अन्य उपाय थिएन । आवरणको इश्वरीय स्वरूप र इश्वरप्रतिको धारणाको चेतले सावरी झसङ्ग भइन् । आवरणले प्रश्न सोधिरह्यो । अनुत्तरित सावरीले अनेकौं बहाना बनाएर आवरणलाई स्कुल छिराइन् । स्कुल छिर्ने बेलामा आवरणले काननेर पुगेर भन्यो, “फुपू, त्यो मन्दिरको भगवान्लाई जेलमा किन राखेको ? भन्नुस् न !” सावरीले आवरणलाई च्याप समातेर अङ्कमाल गरिन् र “साँझ लिन आउँदा भन्छु है” भनेर टारिदिइन् ।


000

काठमान्डू 

२०८०/०४/०२


 

 


डा. पुष्करराज भट्ट

डा. पुष्करराज भट्ट


कथा


अँध्यारो समयको रेखाचित्र


रविले बिहानै झ्याल खोज्यो । घाम झुल्किसकेको थियो । उसले आफ्नो नित्य कर्म सिध्यायो । कोठामा पुगेर पुस्तक पल्टायो । अचानक कोठा बाहिर बरन्डामा वल्लोपल्लो कोठामा बस्ने विद्यार्थीको आवाज सुनेर बाहिर आयो ।

“कोरोना नेपालमा आइसक्यो । एकदुई दिनमा सारा यातायात बन्द हुने हल्ला छ । बसर्पाकमा टिकट नपाएर मानिस फर्किरहेका छन् ।” एक विद्यार्थी भनिरहेको  थियो । 

“कोरोना त चिनमा छ भनेको होइन । नेपालमा कसरी आएछ त ?” अर्को विद्यार्थी जिज्ञासा राख्दै थियो ।

“अब संसारभर फैलिइसक्यो । कोरोना लागेपछि त मानिस बाँच्दैन भन्छन ! ” तेस्रो मानिस डराएर बोलिरहेको थियो । 

उसले ती कुरा सुनेपनि वास्ता गरेन । उसको एकमात्र चिन्ता थियो, “लोकसेवामा नाम कसरी निकाल्ने ?” 

कोठाभित्र गयो । ढोका लगायो । उसकी श्रीमती किरणले चिया दिँदै भनिन्,“काठमाडौं बाहिर घर भएका सारा मानिस घर फर्किरहेका छन्् । हामी पनि के गर्ने होला ?”

“मानिस को के भन्छ, को के गर्छ, त्यसको वास्ता गर्नुहुँदैन । कुरा बुझेर मात्र काम गर्नुपर्दछ ।” रविले सम्झाउने पारामा भन्यो ।

पाँच दिन भइसकेको थियो, ऊ कोठाबाट बाहिर निस्केको थिएन । कहिलेकाँही सामान सकिए श्रीमानश्रीमती दुवै गएर लिएर आउँथे । कोठा बाहिर निस्के पनि डेराबाट दस पाइला परको किराना पसल एवम् त्यसको सामुन्ने रहेको तरकारी पसल मात्र निस्कन्थे । उनीहरूलाई कोठा बाहिरको संसारको कुनै वास्ता थिएन । 

दिउँसो एफएम लगाउँदा समाचार आइरहेको थियो । खबरमा भनिएको थियो, “बसपार्कमा हजारौं मानिसको भीड, काठमाडौं छोडनेको संख्या बढ्दै ।”

समाचारले केही त्रास त दियो तर दिमागमा लोकसेवाको परीक्षा सल्बलायो । 

“यस्तो भीडभाडमा घर जानु उपयुक्त हुँदैन । दुर्घटनाको संभावना हुन्छ । मानिस जता गए पनि महामारीले छोड्ने होइन । ढिलोचाँडो सबै ठाउँ फैलिँदै जाने हो....सँधै यस्तो स्थिति त नरहला । मानिस धेरै आत्तिए जस्ता छन्् । हामी धैर्य राखेर बसौं ।” रवि किरणसँग भन्यो ।

“घरमा त सबै परिवार छन् । यता त कोही छैन ।” किरण डराइन ।

“उता हाम्रा परिवार छन् । राम्रा अस्पताल यतै छन् । उता यसको उपचार हुन्छ, हँदैन, केही थाहा ? धेरै डराउनु आवश्यक छैन । जस्तो समस्या आउँछ । समाधान पनि त्यसै अनुसार आउँछ । हामी लोकसेवाको जाँच दिन आएका, जाँच नदिएर त्यसै जानु पनि भएन ।” रवि स्थिति सम्हाल्ने प्रयासमा बोल्यो । 

उनीहरू घर गएनन् । चुपचाप कोठामा बसिरहे । लामो समय यातायात, पसल बन्द हुने हल्ला चलेको थियो । एक महिना पुग्ने रासन पानी कोठामा राखे । 

कोरोनाको त्रास चारैतिर फैलिइसकेको थियो । सामाजिक सञ्जालमा अनेकन खबर आइरहेका थिए । चारैतिर त्रास फैलाउने काम मात्र भइरहेको थियो ।

  “मानिसको मन नकारात्मक चिन्तनतिर किन बढी दौडिन्छ ? उज्यालोको खोजभन्दा विसंगति बाँच्नु र शून्यमा टोलाइरहनु, नेपालीको नियति नै हो के हो ?” उसको मन मानिसहरूको चिन्तनतिर दौडियो । 

“उज्यालोको यात्रा कहिल्यै सकिँदैन । जीवनमा जतिसुकै अन्धकार भएपनि उज्यालो खोज्न लागिरहनु पर्छ । जीवनको सार्थकताको यात्रा यसैबाट प्रारम्भ हुन्छ ।” उसका मनमा अनेकन तरङ्ग आइरहेका थिए ।

दिउँसो पल्लो कोठामा बस्ने विद्यार्थीले ढोका ढकढकाउँदै बोलाएर भन्यो, “म त घर जान्छु दाजु । भाडाको जीप पाएँ । दोब्बर भाडा भनेको छ । ज्यानभन्दा ठूलो पैसा त होइन ।” उसको काँधमा एक झोला थियो । उसको मनस्थिति हेर्दा यस्तो लाग्थ्यो, कोराना उसको नजिकै छ र मौका पाउने बित्तिकै झम्टिहाल्छ ।

त्यति बेला अर्को कोठामा बस्ने युवक बाहिर निस्कियो । “बसमा सिट पाइएन । भुण्डिएर पनि जान्छु ।” विदेश जान भनेर काठमाडौं आएको उसले पनि झोला काँधमा झुण्ड्यायो ।

”बस पाइए भोलिसम्म म पनि घर जान्छु । अब यहाँ बसेर डराएर बाँचिरहनु भन्दा घर जानु नै राम्रो छ ।” अर्को युवक आफू मात्र छुटेजस्तो, अरुले मुक्ति पाएको र आफू कैदी भएको जस्तो भावमा अँध्यारो भावसहित बोलिरहेको थियो । 

उसले उनीहरूलाई हात हल्लायो र आफू कोठाभित्र पस्यो । 

हिजो काठमाडौं आएपछि के, के न पाइन्छ भनेर आएकाहरू विपत्ति आयो भन्दै भागिरहेका थिए । उनीहरूको मनोभाव देख्दा यस्तो लाग्थ्यो, काठमाडौंमा मात्रै असुरक्षा छ । काठमाडौं बाहिर उनीहरूको घरपरिवार, समाज सब सुरक्षित छ । भ्र्रमको भुलभुलैयामा मानिस दौडिरहेका छन् । भ्र्रममा बाँच्ने मानिस एकहोरो हुन्छ । समयले भ्रमको पर्दा च्यात्छ, अनि मानिस भन्छ, “ए, यसो पो रहेछ ।”

दिउँसो सामाजिक सञ्जालमा एक काठमाडौंवासी मानिसले आफ्नो स्टेटस यसरी राखेको थियो, “बाहिरका मानिस सब घर फर्किरहेका छन् । राजधानीवासी हुनुको स्वाद अब हामी एक्लै लिन्छौं ।”

यो भनाइमा एकातिर आफू काठमाडौंवासी हुनुको अभिमान थियो भने अर्कोतिर कोरोनाका कारण घर फर्केर जानेहरू प्रति व्यङ्ग्य थियो ।

भोलिपल्ट बिहान घरबाट मोबाइन फोन आयो । 

“त्यहाँको हालखबर कस्तो छ छोरा ! तिमीहरू सञ्चै त छौ ?” बुवाले चिन्ता व्यक्त गर्नुभयो ।

“हामी ठीकै छौं । हजुरहरुको स्वास्थ्य कस्तो छ ?” रविले आफनो अवस्था बतायो अनि जिज्ञासा राख्यो ।

“हामी सन्चै हौं । कोरोनाको त्रास फैलिएको छ । काठमाडौ भएका बाहिरका मानिस धमाधम घर फर्किरहेका छन । घर आउने हो त ?” बुवाको मायामिश्रित आग्रह आयो ।

“दस दिनमा लोकसेवाको परीक्षा छ । हामी कोठाबाहिर कतै निस्केका छैनौं । अहिले तत्काल घर आउँदैनौं ।” रविले घर नआउने बतायो ।

उनीहरू साँझ घुम्न के निस्केका थिए, किरणको माइतीबाट फोन आयो । फोन आमाले गरेकी थिइन, “कोठाबाहिर धेरै ननिस्कनु । चारैतिर कोरोनाको त्रास फैलिएको छ ।”

“हस्् आमा ।” भनेर उनले मोबाइलमा भएको कुराकानी अन्त्य गरिन्् ।

उनीहरू दुवै कोठामा बसिरहन्थे । दुवै जना लोकसेवाको तयारीका क्रममा काठमाडौं आएका गिए । स्नात्तकोतर काठमाडौंबाट गरेर घरतिर गएका थिए । आफ्नो घर नजिक भनेजस्तो काम नपाएपछि काठमाडौं लोकसेवाको तयारीका क्रममा आएका थिए ।

“लोकसेवामा नाम निकाल्न सके राम्रो हुन्छ । यहाँ यसरी सानोतिनो काममा अल्झे भविष्य बन्दैन । अब काठमाडौं जाउँ । तयारी कक्षा पनि लिउँ । कोठामा बसेर पनि तयारी गरौँला ।” किरणले यसो भन्दा श्रीमान रविले पनि सहमति जनाएको थियो । घरपरिवारको सहमतिमा उनीहरू त्यहाँ पुगेका थिए । 

डेरावाल जति घर जान थालेपछि घरहरू शून्य जस्ता देखिन थाले । उनीहरू जस्ता एकाध मानिस मात्र त्यहाँ रहे । काम भएका, रोजगार भएका मानिस त्यहीँ रहे । विद्यार्थी, रोजगारको खोजमा आएका एवम्् विदेशमा जान खोज्ने जति आआफ्ना घर फर्के ।

मानिस काठमाडौं छोडन् लागेको मात्र के थियो, सञ्चार माध्यमका खबर आयो, “पन्ध्र दिनका लागि लकडाउन ।” घरबाहिर कतै ननिस्केर कोठामा मात्र बस्नुपर्ने भयो ।

नयाँ नयाँ समाचार आउने क्रममा एकदिन यस्तो पनि समाचार आयो, “लोकसेवाको परीक्षा अनिश्चित कालका लागि स्थगित ।”

जुन उद्देश्यका लागि काठमाडौं आएका थिए, त्यसमा अल्पविराम लाग्यो । 

“अब के गर्ने ?” उनीहरूका सामु यो प्रश्न सोझियो । 

उनीहरूलाई पढ्न पनि मन लागेन । “कति तयारी गरेको थियो, अब के हो, के हो ?” उनीहरूमा अनिश्चय भाव बढिरहेको थियो । 

एक, दुई दिन कुनै कुरामा पनि मन लागेन । पढन, लेख्न पनि मन लागेन । चुपचाप बसिरहे । लामो मौनतापछि रविले मुख खोल्यो, “जीवनमा जे जति दौडधुप भयो, भयो । अब केही दिन विश्राम गर्नुपर्छ । जीवनको रङ् एकनास हुँदैन् । 

“सोचेजस्तो नभएपछि खिन्नता र ग्लानी बढ्दो रहेछ ।” किरणले सुस्केरा हाल्दै भनिन् ।

“जुन कुरा आफ््नो वशमा छ, त्यसमा प्रयास गर्नुपर्छ । अब सारा संसार नै कोरोनाको त्रासमा भएको बेला हामी एक्लैले केही सक्ने अवस्था भएन ?” रविले सान्त्वना भावमा भन्यो ।

केही दिन निराशजस्ता भएका उनीहरू क्रमशः सामान्य हुँदै गए । गीत सुन्ने, साहित्यकलाका पुस्तक पढ्ने काममा लागे । दिनहरू सामान्यजस्ता लाग्न थाले । रोगबाट बच्नका गर्न भनिएका कार्य पनि गर्दै गए ।

एकदिन अचानक किरणलाई रुघाखोली देखियो ।

“मलाई रुघाखोकीले दुःख दियो । चेकजाँच गर्नुपर्ने जस्तो छ ।” 

“हुन्छ । सबै ठाउँ चेकजाँच गर्दैन । सरकारीमा मात्र जाँच गर्छ । त्यहीँ जाउँ ।”

उनीहरू टेकु अस्पताल गए । दुवै जनाको चेकजाँच गराए । 

“तपाईँहरूको रिपोर्ट आउन समय लाग्छ । रिपोर्ट आउने बित्तिकै खबर गर्नेछौंँ ।” जाँच गर्ने स्वास्थ्यकर्मीले भन्यो । 

“हुन्छ ।” यति भनेर उनीहरू डेरामा फर्के ।

“सामान्य रुघाखोकी हो । अरु केही लक्षण छैन । दुवै जनालाई कोरोना छैन । अबका दिनमा सावधानी साथ रहनुहोला ।” दुई दिनपछि यसो खबर आउँदा दुवै ढुक्क भए ।

उनीहरूले समाचार सुन्न नचाहेपनि खबर त कुनै न कुनै माध्यमबाट थाहा भइहाल्थ्यो । सामाजिक सञ्जालमा खबर आउन रोकिएको थिएन । खबर के थियो, मृत्युको कथा थियो । बिरामी बढ्दै गएका थिए । केहीकेही ठिक हुँदै थिए । केही मानिस मृत्यु भएका खबर पनि आइरहेकै थिए । 

उनीहरू चुपचाप चुपचाप कोठामै कैद थिए ।

“अँध्यारो समय सँधै रहँदैन । प्रकाश छ त अन्धकार पनि छ । अन्धकार मात्र पूर्ण सत्य हैन । उज्यालोको खोजी हिजो पनि थियो, आज पनि छ र भोलिका दिनमा नि रहनेछ । मानव सभ्यता यसरी नै अघि बढिरहने छ ।” रवि दार्शनिक जस्तो देखियो ।

“मानिस कति स्वार्थी रहेछ । आफूलाई पर्दा चिच्याउँछ, कराउँछ तर अरुका सम्वेदनाको ख्याल गर्दैन् । आखिर समस्या त जहाँतहाँ छ । सकेसम्म सामूहिक नभए एक्लै महामारी विरुद्ध लड्नु छ । आखिर मानिसको जीवन संघर्षको पर्याय त हो नि ।” किरण पनि भावुक देखिइन् ।

उनीहरू विगतभन्दा वर्तमानमा भयमुक्त र दृढनिश्चयी भइसकेका थिए ।   

000

Thursday, September 7, 2023

रासा

 



कथा

कहर वृत्त



गोधूलि साँझ ।
हामी दुबैजना पसलमा छौं ।
हामीले खाजा खाइसकेका छौं ।
हठात् मेरी श्रीमतीले भनिन् - 'मेरो जीउ कटकटी दुखिरहेको छ । ज्वरो आउलाजस्तो छ ।'
तत्काल मैले भनें - 'केही हुँदैन । सिटामोल एक चक्की खाइदेऊ, निको भइहाल्छ । बरु माथि कोठामा जाऊ, आराम गर्न ।'
उनी सुस्तरी उठिन्, र गइन् ।
म पसलमै रहें ।
••
सुनसान छ पसल ।
कारोबार छैन ।
निरुपाय म पत्रिका पढ्ने जमर्को गर्दैछु ।
••
अन्धकार व्याप्त छ धर्तीमा ।
अँध्यारोमा सबै-सबै अँध्यारा देखिन्छन् ।
कहीं कतै उज्यालो देखिंदैन ।
••
पसल थुन्नुपर्ने बेला भएको छ ।
सुरसार गर्दैछु ।
सामानहरूको राखनधरन र पैसा पनि मिलाउनु छ ।
त्यही गरेर शटर तल झारेको छु ।
••
माथि उक्लिएको छु ।
कोठाभित्र पस्दा देख्छु, उनी खाटमा मस्त पल्टिरहेकी छिन् ।
सोध्छु - 'अहिले कस्तो छ ?'
जवाफमा उनी विस्तारै बोल्छिन् - 'टाउको दुखिरा'छ ।'
हामी केही क्षण मौन रहन्छौं ।
••
पछि हामी दुबै भान्सामा पस्छौं ।
बेलुकीको खाना तयार गर्नु छ ।
••
हाम्री एक्ली छोरी आफ्नै कोठामा होलिन् ।
अक्सर उनी पढाइमै व्यस्त रहन्छिन् , यद्यपि कोभिडका कारण विद्यालय बन्द छ ।
••
दुबैजना मिलेर खाना पकाएका छौं ।
तीनजना एक ठाउँ जम्मा भएका छौं, भान्सामा ।
खान बसेका छौं ।
खाइसकेपछि छोरी आफ्नो कोठामा जान्छिन्  ।
र, हामी आफ्ना कोठामा ।
••
'हामी अलगअलग सुत्ने हो कि !' - उनी बोल्छिन् ।
म उनीलाई आँखा तर्दै भन्छु - 'किन ?'
'मलाई कोरोनाले छोएजस्तो छ ।' - उनी सशंकित हुन्छिन् ।
'आ..........।' - म झर्किन्छु ।
त्यो रात हामी सँगै सुत्छौं ।
••
हामी पसलमा बस्दा हातमा पञ्जा लगाउँछौं, मुखमा मास्क लगाउँछौं, र बेलामौका स्यानिटाइजर पनि प्रयोग
गर्छौं ।
भौतिक दूरी कायम राखेका छौं, तैपनि ..........।
••
भोलिपल्ट ।
बिहान म उठ्दा उनी उठेकी छैनन् ।
सुतिरहेकी छिन् ।
••
शौचादि कर्म सकाएर म भान्सामा पसेको छु ।
दुई कप दूध हालेको चिया पकाएको छु ।
उनीलाई एक कप चिया दिएर पुनः भान्सामा फर्केर चिया पिउन थालेको छु ।
छिट्टै सकाएको छु ।
यतिञ्जेलसम्म पनि छोरी उठेकी छैनन् ।
••
पसल खोलेर बसेको छु ।
ग्राहकहरू आएका छैनन् ।
••
फाट्टफुट्ट ग्राहकहरू आउन थालेका छन् ।
कोही दूध लिन, कोही चिनी किन्न, कोही उधारो पैसा तिर्न, र कोही फगत गफ गर्न आएका छन् ।
म अलिक व्यस्त हुन थालेको छु ।
लेनदेन चलिरहेको छ ।
••
बीचमा उनी आइपुगेकी छिन् ।
हेर्छु, उनी मलिन देखिएकी छिन् । थकित पनि देखिन्छिन् ।
उनको अनुहारभरि बिमिरै-बिमिरा देख्छु ।
रातै छ अनुहार ।
तत्क्षण सोध्छु - 'के भएको हो तिम्रो अनुहारमा ?'
'खै, खटिराहरू निस्किएका छन् ! एकदम चिलाउँछ ।' - उनको स्वर भासिएको छ ।
'तिमी यहाँ बस्दै गर, म एकैछिनमा आउँछु ।' - भन्दै म औंषधि पसलतर्फ लाग्छु ।
••
त्यहाँ पुगेर पसले भाइलाई भन्छु - 'अनुहारभरि बिमिरा आएको छ, चिलाउँछ रे ! के गर्ने होला ?'
'कसलाई ? भाउजूलाई हो ?' - उसले सोध्छ ।
जवाफमा म बोल्छु - 'हो ।'
'त्यसो भए, यो ओखती दल्न लगाउनू बिहान-बेलुका । उहाँलाई ज्वरो पनि छ ?' - उसले यति भन्दै ओखती दिन्छ ।
'ज्वरो त छैन ।' - मैले बोल्दै गर्दा ऊ अर्को ग्राहकतिर फर्किन्छ ।
'के दिऊँ ?' - ऊ ।
'सिटामोल एक फाइल दिनोस् न !' - ग्राहक ।
- 'अझै ज्वरो घटेको छैन ?'
- 'छैन नि ।'
- 'छिटै अस्पताल लानोस् । पक्कै कोभिड होला !'
- 'हस् !'
त्यो ग्राहक गएपछि उसले मतिर हेर्दै भन्छ-
'दाइ,भाउजूलाई कोरोनाले छोएको हुनुपर्छ । केयर गर्नु होला ! उहाँलाई आइसोलेसनमा राख्नु होला !'
म भाइलाई धन्यवाद भन्दै पैसा दिन्छु ।
र, लगत्तै फर्किन्छु ।
••
म उनीलाई औंषधि दिंदै भन्छु - 'ल, यो लगाऊ ! अहिले नै लगाइहाल । भरे बेलुकी पनि लगाउनु पर्छ ।'
'मलाई के भएको हो ?' - उनी चिन्ता प्रकट गर्छिन् ।
'अरू केही होइन, एलर्जी भएको रे !' - म उनीलाई आश्वस्त पार्छु ।
उनी आराम गर्न माथि कोठामा जान्छिन् ।
म पसलमै रहन्छु ।
••
म दिनभर पसलमै अल्झिन्छु ।
अल्झिरहन्छु नै ।
खाना र खाजा खान भने उनीले मलाई पालो दिन्छिन् ।
उनी उस्तै छिन् ।
र, छोरी सकुशल छिन् ।
••
यताउता गर्दागर्दै दिन बित्दछ ।
साँझ ढल्न लागेको छ ।
रात पर्दैछ ।
••
पसल बन्द गरेर म माथि उक्लिएको छु ।
उनी भान्सामा व्यस्त छिन् ।
र, छोरी आफ्नै कोठाभित्र केही गरिरहेकी छिन् ।
••
पछि हामी तीनैजना भान्सामा एकत्रित हुन्छौं ।
र, खाना खान बस्छौं ।
तर, हामी मौन छौँ ।
••
खाना खाइवरी, भाँडाकुँडा पखालपुखुल गरी
हामी तीनजना तीनतिर अलगअलग सुत्न जान्छौं ।
••
कतिखेर निदाएछु म, थाहै भएन ।
उनीहरू पनि निदाए होलान् ।
••
बागमती बगिरहेकी छिन् ।
वनमा रुखहरू सुसाइरहेका छन् ।
चराहरू चिर्बिराइरहेका छन् ।
र, नजिकैको मन्दिरमा घण्टाहरू बजिरहेका छन् ।
••
कलिलै छ घाम ।
म ब्युँझिसकेको छु ।
तर, उनीहरू उठेका छैनन् ।
••
हतारहतार नित्य-कर्म सकाएर
पसल खोल्न तल ओर्लेको छु ।
शटर माथि धकेलेर बत्ती बालेको छु ।
सामानहरू मिलाएर राख्दैछु ।
बढारकुँढार गरेर
धूप पनि सल्काएको छु ।
••
क्रमशः ग्राहकहरू आउन थालेका छन् ।
म व्यस्त हुन थालेको छु ।
••
दूध लिन आएको एकजना ग्राहकले सोध्छन् - 'दाजु, भाउजूलाई देख्दिनँ नि । कहाँ जानुभयो ?'
जवाफमा म बोल्छु - 'उनी माथि भान्सामा छिन् , एकछिनपछि आउँछिन् ।'
'कोभिडले छोएको त होइन !' - उनी शंका प्रकट गर्छन् ।
'होइन, होइन ।' - म भन्छु ।
••
उनी चिया लिएर पसलमा आइपुग्छिन् ।
तत्काल म उनको मुहार एकटकले हेर्छु, हेरिरहन्छु ।
अनि त्यसपछि, भन्छु - 'के छ त बूढी, हालखबर ?'
उनी सुस्तरी बोल्छिन् - 'अहिले ठीक छु । हिजो बेलुकी  झण्डै मरेकी म ।'
'के बोलेकी, मुखमा जे आयो त्यही बोल्ने !" - मलाई झनक्क रिस उठ्छ ।
'सास फेर्न गाह्रो भयो । पसिना-पसिना भएँ । म त आत्तिइसकेकी । तपाईंलाई उठाउन पनि सकिनँ । पछि, घोप्टो परेर सुतें । सञ्चो भयो ।' - उनी बोल्दै छिन् ।
म सुन्दैछु ।
'चिलाउन कम भयो । अरू केही छैन ।' - उनको बोलीले म ढुक्क हुन्छु । तैपनि, म भन्छु- 'तिमीलाई कोभिडले छोएको हो । जाऊँ, हस्पिटलमा गएर जचाऊँ ।'
'अब मलाई केही हुँदैन । म हस्पिटल जान्नँ ।'- उनी ढिपी कस्छिन् ।
म चुप बस्छु ।
••
ग्राहकहरू फाट्टफुट्ट आइरहेका छन्
र, गइरहेका पनि छन् ।
हामी दुबै पसलमै छौं ।
••
पसलमा बसेर
हामी घरायसी कुरामा अल्झिएका छौं ।
केही सकारात्मक कुराहरू छन् त, केही नकारात्मक कुराहरू पनि छन् ।
••
म बोल्छु - 'क्वाँटी पकाऊ, चिकेन पनि लिएर आऊ ! झोलिलो र तागतिलो कुरा खानुपर्छ ।'
उनी बोल्छिन् - 'खानै मनलाग्या छैन ।'
पुन: म भन्छु -'मननलागे पनि खानुपर्छ ।'
••
उनी मासु लिन गइन् ।
म पसलमै छु ।
फर्केर उनी भान्सामा खाना पकाउन गइन् ।
••
पसलमा म एक्लै केही पढिरहेको छु ।
ग्राहकहरू छैनन् भन्दा हुन्छ ।
••
केही समयपछि
उनी आइन् , र सँगै बस्दै भनिन् - 'जानुस् , खाना खाएर आउनुस् !'
'तिमीले खायौ त ?' - मेरो सोधनीमा उनी सुस्तरी बोल्छिन् - 'म अहिले खाँदिनँ , पहिला तपाईं खाएर आउनुस् । छोरीे पनि खाइरहेकी छिन् ।'
••
म खाना खान जान्छु ।
••
छोरी खाना खाएर आफ्नो कोठामा पसिसकेकी छिन् ।
म खाना पस्किन्छु , र खान थाल्छु ।
झटपट खाएर
मुख चुठेर
हात धोएर
तल पसलमा झर्छु ।
र, उनीलाई खान पठाउँछु ।
••
अब दिनभरि पसलमा बस्नु छ ।
••
दिउँसो
पसलमा त्यति ग्राहकहरू आउँदैनन् ।
झिँगा मारेर बस्नुपर्छ ।
समयकटनीका लागि केही पढ्छु, र लेख्छु पनि ।
यो नै मेरो नियमित दैनिकी हो ।
••
यतिखेर म
विश्वविख्यात स्रष्टा बेन ओकरीको कविता सञ्चयन 'एन अफ्रिकन एलिजि' पढ्न व्यस्त छु ।
••
पढ्दापढ्दै झकाउन थाल्छु ।
यस्तै हुन्छ मलाई ।
••
मन उदास छ
र, तन शिथिल छ ।
••
अलिक टाउको दुख्याजस्तो ।
आलस्यले गाँजेको छ ।
••
उनीले मलाई खाजा लिएर आउँदा दिनको तीन बजिसकेको छ ।
उनी प्रसन्न मुद्रामा छिन् ।
म भने मन नलागी-नलागी खाजा खान्छु ।
मेरो मुख मीठो छैन ।
••
उनी बोल्न खोज्छिन् , मलाई चाहिँ बोल्न नपरोस् जस्तो लाग्छ ।
उनीले गरेका प्रश्नहरूका उत्तर दिन पनि झिँजो लाग्छ ।
उनी के सोचिरहेकी छिन् , मलाई मतलब छैन ।
'लौ त, तिमी बस । म यसो आराम गरेर आउँछु ।' - यति भन्छु ।
'हैन, तपाईंलाई के भयो ?' - उनी सोध्छिन् ।
म नबोलीकनै माथि कोठातिर लाग्छु ।
••
डङ्ग्रङ्ङ पल्टिन्छु खाटमा ।
जीउ हल्का तातो छ ।
ज्वरो आउलाजस्तो छ ।
••
पल्टिरहन्छु ।
मनमा अनेक कुराहरू खेल्छन् । खेलिरहन्छन् ।
तन्द्रिल अवस्थामा छु ।
••
उठेर पसलमा फर्किंदा झमक्क साँझ परिसकेको छ ।
उनी व्यस्त छिन् ।
म पनि उनीलाई सघाउन तत्पर हुन्छु ।
ग्राहकहरूको आगमन ।
अनि, बहिर्गमन ।
चलायमान कारोबार ।
••
म बिस्तारै बोल्छु - 'जाऊ, मलाई खाना नपकाऊ । बरु अलिकति जाउलो पकाइदेऊ । सञ्चो छैन ।'
उनी मेरो निधार छाम्दै भन्छिन् - 'तातो छ । तपाईंलाई ज्वरो आएको छ । छिट्टै पसल बन्द गरौं ।'
हामी पसल थुन्न थाल्छौं ।
••
माथि आउँछौं ।
छोरी आफ्नै कोठामा केही गरिरहेकी छिन् ।
उनी भान्सामा पस्छिन् ।
म कोठाभित्र पस्छु । र, पुनः पल्टिन्छु ।
••
केही गर्न मनलागेको छैन ।
खान पनि मनलागेको छैन ।
फगत सुतिरहन मनलागेको छ ।
••
बस्, सुतिरहेको छु । केवल सुतिरहेको छु ।
••
केही क्षणपश्चात्
उनी मलाई बोलाउन आउँछिन् ।
उठेर म उनीको पछि लाग्छु, भान्सातिर ।
••
मलाई जाउलो पस्किदिन्छिन् । बिस्तारै खानथाल्छु ।
खानमा त्यति रुचि छैन मेरो ।
उनीहरू पनि खानथाल्छन् ।
••
खाइसकेपछि
हामी आ-आफ्ना कोठातर्फ लाग्छौं ।
••
बिहान म छिटो उठ्न सक्तिनँ ।
हनहनी ज्वरो आएको छ ।
टाउको पड्किएलाजस्तो छ ।
जीउ दुखेको छ । 
ढिलो उठ्छु ।
छिनमै ट्वाइलेट जान्छु । खलास हुँदैन । मात्र पिसाब फेरेर कोठामा फर्किन्छु ।
••
उनीले पसल खोलिसकेकी छिन् ।
त्यहीँ व्यस्त छिन् ।
••
भान्सामा गएर एक चक्की सिटामोलसँगै पानी पिउँछु । पुनः कोठामै फर्केर खाटमाथि पल्टिन्छु ।
पल्टिएर अनेक कुराहरू सोचिरहन्छु ।
अलिक चिसो भएको अनुभव हुन्छ ।
तत्कालै उनीको फोन आउँछ । उठाउँछु - 'हेलो !'
उनी बोल्छिन् - 'तपाईं उठिसक्नुभयो ?'
म - 'अघि नै उठेको ।'
उनी -'चिया पकाएर खानुस् !'
म झुठ बोल्छु - 'पिइसकें ।'
'त्यसो भए, आराम गरेर बस्नुस् !' - उनीले यति भनेर फोन राख्छिन् ।
••
म कोठाभित्रै छु ।
थाहा छैन, छोरी कहाँ के गरिरहेकी छिन् !
••
करिब नौ बजेतिर म पसलमा जान्छु ।
'मलाई खाना नपकाऊ । बरु एक बटुको मसरुम सुप ल्याइदेऊ'- यति भन्दै म उनीलाई माथि पठाउँछु ।
••
सञ्चो छैन ।
दिन यत्तिकै बित्छ ।
साँझपख फेरि जीउ तात्तिन थाल्छ ।
सोच्छु, सिटामोलको असर कम हुनथालेछ ।
••
छिटै पसल बन्द गरेर माथि उक्लिन्छु ।
मलाई देखेर उनी बोल्छिन् - 'किन, यति छिटो ?'
जवाफमा म फुसफुसाउँछु - 'अँ, बस्न मनलागेन । जीउ भारी भयो ।'
उनी सोध्छिन् - 'के पकाइदिऊँ ?'
'केही पर्दैन । दूध बिस्कुट खाऊँला ।' - मलाई बोल्नै मनलागेको छैन वास्तवमा ।
••
उनीहरू दुईजना खाना खाइवरी सुत्ने तरखरमा लागे ।
मलाई दूध बिस्कुट ल्याइदिइन् । त्यही खाएँ-पिएँ । सिटामोल पनि निलें ।
पानी पनि पिएँ । 
लम्पसार सुतें ।
अनि, भुसुक्क निदाएँ पनि ।
••
म पसलमा जान छोडिसकें ।
उनी नै घर-पसल, पसल-घर गर्छिन् ।
उनीलाई सकस छ ।
••
यसरी ज्वरो आउने-जाने गरेको आजले चार दिन भयो । ज्वरो एक सय चारबाट तल घट्दैन ।
औंषधि खाउञ्जेल मात्र निको, नत्र उही ।
जीउ सर्वाङ्ग दुख्छ ।
खानमा पटक्कै रुचि छैन ।
जिब्रोले स्वाद लिन छोडिसक्यो ।
सामान्य खोकी पनि लागेको छ ।
अब त हुँदै भएन भनेर एक डक्टर मित्रलाई फोन गर्छु । उनले पिसिआर टेष्ट गराउने सुझाव दिन्छन् । टेष्टका लागि एक स्वास्थ्य संस्थामा कार्यरत एउटी चिनजानकी बहिनीलाई सम्पर्क गर्छु । उनीले घरमै स्वाब संकलनका लागि एक भाइ पठाइदिन्छिन् । स्वाब लिएर जान्छन् । त्यसको भोलिपल्ट रिपोर्ट आउँछ, नेगेटिभ । म अचम्मित हुन्छु । तुरुन्तै डक्टर मित्रलाई फोनमा यो तथ्य बताउँछु । उनले भन्छन् - 'तपाईंलाई कोभिड भएकै हो । तर, पोष्टकोभिड । तपाईंको इम्युनिटी पावर बलियो रहेछ । अब ढुक्कले बस्नुस् । तनाव नलिनुस् । पोषिलो खानुस् । सकारात्मक सोच्नुस् । आइसोलेसनमै बस्नुस् । अरू कुरा के भनूँ ।'
म मित्रप्रति आभार प्रकट गर्छु ।
••
पुरै एक हप्तापछि
म सकुशल पसलमा बस्नथाल्छु ।
उनी प्रफुल्लित छिन् ।
र, छोरी पनि मगनमस्त छिन् ।
••
आजपर्यन्त
हाम्रो जीवन गतिशील छ ।
कुनै बाधा-अड्चन छैन ।
                                                       •••••